मेरो कथा खाली खाली पिँजडामा खोज
मेरो व्यथा भत्किएको मन्दिरलाई सोध
रुदाँ रुदैँ हाँसी दिनु गाह्रो छ कि छैन
जली जली खाक हुने मैनबत्तीलाई सोध
मेरो कथा…..
बाँसुरीझै चोट बोकी धेरै गीत गाएँ
हाँसो बैरी हुँदा पनि आँशुलाई नै अंगाले
आकाशको जून पनि काटिएको चंगा
मेरो आँखाबाट बग्छ जमुना र गंगा
मेरो कथा रित्तो रित्तो खण्डहरमा खोज
मेरो व्यथा तार चुँडेको सितारलाई सोध
मेरो कथा……
न त फुल्छ न त झर्छ मेरो मनको फूल
वारि छदैँ भाँचिएछ पारि पुग्ने पुल
जबसम्म बिझिदिन्छ सम्झनाको सियो
तब यहाँ निभिदिन्छ जिन्दगीको दियो
मेरो कथा शून्य शून्य मसानमा खोज
मेरो व्यथा टुटी झर्ने तारालाई सोध
मेरो कथा…….
शब्दः मन बहादुर मुखिया
संगीतः शान्ति ठटाल
स्वरः नारायण गोपाल