कुन मन्दिरमा जान्छौ यात्री
कुन मन्दिरमा जाने हो
कुन सामग्री पूजा गर्ने
साथ कसोरी लाने हो
कुन मन्दिरमा जान्छौ यात्री
कुन मन्दिरमा जाने हो
कुन सामग्री पूजा गर्ने
साथ कसोरी लाने हो
कुन मन्दिरमा जान्छौ यात्री
हाडहरूको सुन्दर खम्बा, मांशपिण्डको दिवार
मष्तिस्कको सुनको छाना, इन्द्रियहरूको द्वार
नशा नदीका तर तरङ्ग मन्दिर आफू अपार
कुन मन्दिरमा जान्छौ यात्री
साथी यात्री बीच सडकमा ईश्वर हिँड्दछ साथ
चुम्दछ ईश्वर काम सुनौला गरिरहेको हात
छुन्छ तिलष्मी करले उसले सेवकहरूको माथ
कुन मन्दिरमा जान्छौ यात्री
फर्क फर्क हे जाऊ समाऊ मानिसहरू पाउ
मलम लगाऊ हातहरूको चहराई रहेको घाऊ
मानिसहरू भै ईश्वरको त्यो दिव्य मुहार हँसाऊ
कुन मन्दिरमा जान्छौ यात्री
सडक किनारा गाउँछ ईश्वर चराहरूको तानामा
बोल्दछ ईश्वर मानिसहरूको पीडा दुःखको गानामा
दर्शन किन्तु कही दिदैन चर्मचक्षुले कानामा
कुन मन्दिरमा जान्छौ यात्री
कुन मन्दिरमा जाने हो
कुन सामग्री पुजा गर्ने
साथ कसोरी लाने हो
कुन मन्दिरमा जान्छौ यात्री
शब्दः लक्ष्मी प्रसाद देवकोटा
सङ्गीतः रञ्जीत गजमेर
स्वरः रबिन शर्मा
चलचित्रः बासुदेव