म फूल हैन मानिस भएँ विरह बोल्दछु
शीतको थोपा पर्दैन ममा म आँशु खोल्दछु
म फूल हैन मानिस भएँ
दिल हो मेरो अल्झिन्छ कहीँ, कहीँ खान्छ ठक्कर
झन चोट खान्छ झन हुन्छ काेमल बन्दैन पत्थर
आकाशजस्तो हृदय रित्तो मैले पाइनँ
हेरि जो देख्छु देख्दिनँ भन्ने भावना पाइनँ
शीतको थोपा पर्दैन ममा म आँशु खोल्दछु
म फूल हैन मानिस भएँ
म एकछिनको घटना हैन चटक्क बिर्सन
खोलाको कलकल चुलबुल होइन म एक तिर्सना
इन्द्रेणी रङ्ग मसँग छैन यौवन श्रृंगार्न
दुई शब्द मेरो के पुग्दैन र तिमीलाई पुकार्न
शीतको थोपा पर्दैन ममा म आँशु खोल्दछु
म फूल हैन मानिस भएँ
शब्द/संगीत/स्वरः बच्चु कैलाश