यति ठूलो संसारमा मेरो भन्नु एउटै बास– तिम्रो मन
यति ठूलो संसारमा मेरो भन्नु एउटै बास– तिम्रो मन
यति धेरै मानिसमा मेरो भन्नु एउटै आफ्नो– तिम्रो माया
तिम्रो माया, तिम्रो माया
कहाँ गई सुनाऊँ म मनभरिका कुरा तिमीले नसुने
कहाँ गई बिसाऊँ म मुटुभरिका माया तिमीले नदिए
यति ठूलो संसारमा मेरो भन्नु एउटै बास– तिम्रो मन
मन मानिसको कहिलेकाहीँ सानै कुरामा चस्किएर दुख्छ
मन मानिसको कहिलेकाहीँ सानै कुरामा चस्किएर दुख्छ
यस्तै समय हो मनको बह पोख्न तिम्रो म सहारा खोज्छु
खुशी मानिसको कहिलेकाहीँ यति अथाह चुलिदिन्छ
यस्तै समय त्यो खुशीको तह रोप्न तिमीमा बाँड्न खोज्छु
यति चोखो पिरतीको मेरो भन्नु एउटै चिज छ– तिम्रो इच्छा
यति थुप्रै कल्पनाका मेरो भन्नु एउटै साथी– तिम्रो साथ
तिम्रो साथ, तिम्रो साथ
यति ठुलो संसारमा मेरो भन्नु एउटै बास– तिम्रो मन
एकाबिहानै के गुनासो पोखूँ भनि हाँसेरै बिताई दिन्छु
एकाबिहानै के गुनासो पोखूँ भनि हाँसेरै बिताई दिन्छु
कहाँ समय छ व्यस्त छौ भरदिन कसरी म केही भनूँ
बस्छु पर्खेर म ढल्केको रातसँग फर्किन्छौ थकित भई
हेर्छु टोलाई म मुहार तिम्रो कुन मनले उठाऊँ कुरा
यति सुखसयलमा मेरो भन्नु एउटै खुशी– तिम्रो खुशी
यति व्यस्त जीवनमा मेरो भन्नु एउटै शान्ति– तिम्रो छायाँ
तिम्रो छायाँ, तिम्रो छायाँ
यति ठुलो संसारमा मेरो भन्नु एउटै बास– तिम्रो मन
शब्दः चाँदनी शाह
संगीतः नातिकाजी
स्वरः तारा देवी