के छ र दिऊँ तिमीलाई मैले कोसेली भनेर, कोसेली भनेर
ल्याएको थिएँ दुई थोपा आँशु पोखियो छल्केर, पोखियो छल्केर
के छ र अरू मसँग दिऊँ कविता छोडेर
कोरेको थिएँ त्यै दिऊँ भनि मेटियो झस्केर
ल्याएको थिएँ गीत यो दिन तिमीलाई भनेर
पवनबीचै बिलाई गयो त्यो पनि गाएर
के छ र दिऊँ तिमीलाई मैले कोसेली भनेर, कोसेली भनेर
तस्विर थियो मसँग एउटा राखेको खिचेर
पुरानो भई त्यो पनि आज गएछ उडेर
दिएका थियौँ मायाले औठी चिनो है भनेर
त्यो पनि फिर्ता दिऊँ कि भन्दा गएछ खिएर
के छ र दिऊँ तिमीलाई मैले कोसेली भनेर, कोसेली भनेर
सम्झना तिम्रो सिवाय मेरो मुटुमा के छ र
सुम्पन ल्याएँ मुटुकै टुक्रा आँशुले धोएर
बुझेर लेऊ तिम्रै हुँ नासो मरेको शरीर
लास यो मेरो मसान लगी पुरिदेऊ खनेर
के छ र दिऊँ तिमीलाई मैले कोसेली भनेर, कोसेली भनेर
ल्याएको थिएँ दुई थोपा आँशु पोखियो छल्केर, पोखियो छल्केर
शब्दः म. बि. बि. शाह
संगीतः नातिकाजी
स्वरः तारा देवी