मेरो गीत मेरै प्रतिबिम्ब हैन
जो फुटी जाने हैन, जो टुटी जाने हैन
आकाश जस्तो अमर गीत मेरा
म जस्तो दुई दिनको पाहुना हैन
केही गुनगुनाउँछु धेरै शान्ति पाउँछु
केही शान्ति बाँड्न यहाँ गीत सुनाउँछु
म ल्याउँछु सागरबाट अँजुलीमा पानी
एक एक बुन्दले सबको प्यास मेट्न खोज्छु
सबैलाई रिझाउने मेरो गीत हैन
तिमीले नसुन्दैमा गीत मर्ने हैन
आकाश जस्तो अमर गीत मेरा
म जस्तो दुई दिनको पाहुना हैन
गीत चोरी ल्याएँ सागरबाट
आकाशको निलो गेहेराइबाट
सुनी हेरेँ सबमा गीतको मुहान छ
यहाँ जिउँदोलाई सास फेर्न जहिँतहिँ हावा छ
मेरो गीत भन्ने अधिकार छैन
गीतको पो म हुँ मेरो गीत हैन
आकाश जस्तो अमर गीत मेरा
म जस्तो दुई दिनको पाहुना हैन
मेरो गीत मेरै प्रतिबिम्ब हैन
शब्द/संगीतः गोपाल योञ्जन
स्वरः नारायण गोपाल